LISTEN LIVE RADIO

राष्ट्रपति भण्डारीद्वारा दाङकाे बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको उद्धघाटन



दाङ ३ फागुन । नेपाल सरकारका राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको उद्धघाटन गरेकी छिन् । आज बुधबार एक औपचारिक समारोहको आयोजना गरी राष्ट्रपति भण्डारीले उक्त भवनको उद्घाटन गरेकी हुन्।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले समुन्नत नेपाल निर्माणका लागि नेपाली सभ्यताको पुर्नजागरण आवश्यक भएको बताइन । उनले नेपाल सांस्कृतिक,नैतिक र सभ्यता पुर्ननिर्माणको संघारमा उभिएको भन्दै राष्ट्रपति भण्डारीले यसलाई राष्ट्रले ठूलो जिम्मेवारीका रुपमा लिनु पर्ने बताइन्।

‘हामीहरुले अब स्वाभिमान र सम्मान खोज्नु पर्छ, यसका लागि सांस्कृतिक, नैतिक र सभ्यताको संस्कारलाई विकास गर्न जरुरी छ’,राष्ट्रपति भण्डारीले भनिन्, ‘मैले यसलाई नेपाली सभ्यताको पुर्नजागरणको नाम दिएकी छु।’ उनले अन्तर्राष्ट्रिय स्तरमा यो अभियानलाई प्राज्ञिक तथा विश्व विद्यालयहरुले जिम्मेवारी लिएर उचाईमा पुर्याएको इतिहास रहेको भन्दै राष्ट्रपति भण्डारीले नेपाली सभ्यताको पुर्नजागरणको अभियानको नेतृत्व नेपाल संस्कृत विश्व विद्यालयले लिनुपर्ने सुझाव दिइन् ।

‘नेपाली सभ्यताको पुर्नजागरणको अभियानलाई उचाईमा पुर्याउन प्राज्ञिक तथा विश्व विद्यालयहरुले लिनु पर्दछ,’उनले भनिन्, ‘यसका लागि नेपाल संस्कृत विश्व विद्यालयले नेतृत्वदायी भूमिका खेल्न सकोस्।’ संस्कृत भाषाको संरक्षणका लागि अहम् भूमिका खेल्दै आएको नेपाल संस्कृत विश्व विद्यालयले यो प्रयासलाई थप उचाईमा पुर्याउन विश्व विद्यालयले थप सृकयता देखाउनु पर्ने भण्डारीले सुझाव दिइन् ।

उनले विश्वमा प्राकृतिक चिकित्साले अधिक महत्व पाउँदै आएको भन्दै नेपालमा पनि यसको प्रभावकारीतामा जोड दिँदै यो पद्धतिको विश्वसनीयता कायम गर्नुपर्ने बताइन्। ‘आयुर्वेद पूर्वीय दर्शन मात्रै हैन, यसलाई बिश्वले रुचाएको छ, उनले भनिन् ।’ साथै उनले आयुर्वेद अध्ययनका लागि निर्मित भवनबाट दक्ष जनशक्ति उत्पादन हुने विश्वास गर्दै उनले यो शिक्षालाई पुस्तान्तरण गरिनु पर्ने आवश्यक्तामा जोड समेत दिइन्।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति यादव प्रकाश लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सरकारका प्रबक्ता,सुचना तथा सञ्चार मन्त्री रेखा शर्माले कोरोना महामारीसंग जुधिरहेको समयमा शिक्षण भबनले स्वास्थ्यमा पु¥याएको सेवा आफैमा ऐतिहासिक र महत्वपुर्ण रहेको बताइन । ‘यदि यो भवन नभएको भए हामीले धेरै होनाहार व्यक्तीहरुलाई गुमाउनु पर्ने स्थिती बनथ्योे,‘उनले भनिन्,त्यसैले यो भवन अहिले जीवन दाताको रुपमा स्थापित छ ।’

उनले संस्कृत विश्व विद्यालय नेपालको एतिहासिक विश्व विद्यालय रहेकोले यसको विकासका लागि सबैले ध्यान दिनुपर्ने बताइन । यो विश्व विद्यालयलाई पूर्वीय दर्शनको अध्ययनको केन्द्र बनाउन सकेमा संसारभरका पुर्वीय दर्शनमा अध्ययनको रुची राख्ने व्यक्तीहरुलाई आमन्त्रण गर्न सकिने शर्माले बताइन ।

यदि हामीले नेपालबाट त्यसो गर्न सकेनौ भने पुर्वीय दर्शनको अध्ययन गर्न पश्चिमा देशहरुमा जानुपर्ने स्थिती आउन सक्ने उनले तर्क गरिन । त्यसकारण यसका निम्ती यस संस्कृत विश्व विद्यालयलाई बिदेशबाट पनि विद्यार्थी पढ्न आउने गरि विकास गर्न जरुरी रहेको बताइन । विश्व विद्यालयको आन्तरिक पक्षलाई कसरी सुदृढ र सबल बनाउन भनेर सकिन्छ विषेश ध्यान दिन आग्रह समेत गरिन ।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ मन्त्री बिस्नु पन्थीले शिक्षण अस्पतालले दाङ मात्र नभई लुम्बिनी प्रदेशभरका सबै जनताहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने बिश्वास ब्यक्त गरे । उनले भने,‘आयुर्वेद क्षेत्रको बिकास भएमा मुलुकको आर्थिक क्षेत्रको बिकास गर्न सक्छौ,त्यसैले यसलाई व्यावसायीक ढंगले अगाडि बढाउन प्रयत्न गरौं । ’

कार्यक्रमबारे प्रकाश पार्दे विश्व बिद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा .भिम प्रसाद खतिवडाले २०७२ सालपछि निर्माण गरिएको शिक्षण भवनको ३ वटा ब्लक रहेको बताए । उनले साना–ठूला सबै गरी १ सय ८ वटा कोठा रहेको भवनमा विद्यार्थीको सैद्धान्तिक एवम् प्रयोगात्मक कक्षा तथा प्राध्यापकहरुको कोठा पनि रहेको जानकारी दिए ।

कुल २४ करोड ७२ लाख ८३ हजार ४ सय ६६ रुपैयाको लागतमा उक्त भवनको निमार्ण कार्य सम्पन्न भएको थियो । बिएएमएसका लागि सबै वर्षको गरी त्यहाँ २ सय २५ जना विद्यार्थी अध्ययनरत छन् । नेपाल संस्कृत विश्व विद्यालयका कुलसचिब माधब अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विश्व बिद्यालयका अनुसन्धान केन्द्रका निर्देशक सुधन कुमार पौडेलले गरेका थिए । त्यस कार्यक्रममा बिएएमएसमा अध्ययनरत विद्यार्थीहरुले नेपालको सांस्कृतिक झल्कने विभिन्न नृत्य योग प्रदर्शन गरेका थिए । कार्यक्रम पश्चात राष्ट्रपति भण्डारीले शिक्षण भवन र नेपाल संस्कृत विश्व विद्यालयको भवनको निरिक्षण गरेकी थिइन ।

फरककाेणबाट साभार

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे