LISTEN LIVE RADIO

रेडक्रस दाङले एकैसाथ ३ स्थानबाट रगत संकलन गर्ने



रेडक्रस दाङले एकैसाथ ३ स्थानबाट रगत संकलन गर्ने

दाङ ७ साउन । नेपाल रेडक्रस सोसाईटी दाङले रगत संकलन गरी आवश्यक व्यक्तिलाई आपुर्ति गर्दै आएकोमा रक्तदान दिवसको अवसरमा रगत संकलन गरी दिवस मनाउने भएको छ । साउन १२ गतेका दिन ५६ औं रक्त संचार सेवा दिवसको अवसरमा जिल्लामा पनि विविध कार्यक्रम गरी मनाउने भएको हो ।

सुलभ, गुणस्तरिय र मर्यादित सेवा : नेपालको रक्त सञ्चार सेवा भन्ने नाराका साथ दिवस मनाउन लागिएको नेपाल रेडक्रस सोसाईटी दाङका अध्यक्ष नारायण आचार्यले जानकारी दिएका छन् । जिल्लाको ३ स्थानमा रक्त सञ्चार केन्द्र सञ्चालन गरेको नेपाल रेडक्रसले तुलसीपुर, घोराही र लमहीमा साउन १२ गतेका दिन रगत संकलन गर्ने छ । सोही दिन रक्त सञ्चार केन्द्रसँग लामो समयदेखि सहकार्य गर्दै रगत उपलब्ध गराउने १ सय ५० बढि संस्थालाई सम्मान गरिने छ ।

त्यसका लागि ३ वटा समिति समेत गठन गरिएको छ । रक्त संचार सेवा घोराहीका लागि दाङ शाखाका सभापति नारायण आचार्य सयोजक रहेको समितिमा प्रकाश श्रीबन्द, नरेशजंग राणा, थम्मन चौधरी, मिनराज शर्मा, सिताराम चौधरी, शशि शर्मा सदस्य तथा सदस्य सचिबमा दिलीप न्यौपानेलाई जिम्मेवारी तोकिएको छ ।

त्यस्तै तुलसीपुर क्षेत्रका लागि साउन १२ गते रगत संकलन अभियान र प्रमाण पत्र वितरणका लागि शाखाका कोषाध्यक्ष कुशल तर्तालको संयाजकत्वमा भिमलाल मरासीनि, द्रोण वली, देविका नेपाली, लेखराज बस्नेत, हरिहर पौडेल, जगदीश देवकोटा, केशवकुमार शर्मा, सुशील बस्नेत, सुरेश श्रेष्ठ र गोपाल शर्मा भट्टराई सदस्य तथा शाखाका कर्मचारी सुशील  न्यौपानेलाई सदस्य सचिवको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै रक्त संचार सेवा केन्द्र लमहीमा उपसभापति मदन गौतमलाई संयोजक, लक्ष्मी शर्मा, दिपक यादव, प्रमोद पौडेल, थानेश्वर गैरे, राजकुमार यादव, दयाराम यादव, मेनका शर्मा, शंकर पाण्डे, रवि आचार्य, दशरथ घिमीरे तथा सदस्य सचिवमा मनिषा चन्दलाई जिम्मेवारी तोकिएको नेपाल रेडक्रस सोसाईटी दाङ शाखाले जनाएको छ । जिल्लामा मासिक ४ सय १२ युनिट रगत संकलन हुने गरेको छ भने गत आर्थिक बर्षमा ५ हजार २ युनिट रगत संकलन भएको थियो भने ५ हजार ५२ युनिट वितरण भएको छ ।

लमहीमा ९ सय ८७ युनिट संकलन भएकोमा १ हजार वितरण भएको छ । तुलसीपुरमा १ हजार ३ सय ४५ युनिट संकलन भएको छ भने वितरण १ हजार २ सय १३ भएको छ र घोराहीमा २ हजार ६ सय ७० युनिट रगत संकलन भएकोमा २ हजार ७ सय ७५ युनिट वितरण भएको छ ।

२०२३ साल साउन १२ गते नेपालमा रक्त सञ्चार सेवा स्थापना भएको थियो । अहिले नेपालको ७३ जिल्लाका ११६ स्थानमा रक्त सञ्चार सेवा केन्द्र तथा एकाईहरू मार्फत् रेडक्रसले सेवा सञ्चालन गरिरहेको छ । काठमाडौं, विराटनगर, पोखरा, नेपालगंज र चितवन गरी ४ वटा क्षेत्रीय रक्त सञ्चार सेवा २२ वटा जिल्ला स्तरीय इकाई, ४७ जिल्लाका आकस्मिक रक्त सञ्चार सेवा र ३८ वटा अस्पतालका रक्त सञ्चार सेवा एकाईबाट रक्त सञ्चार सेवा सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे