LISTEN LIVE RADIO

लमही महोत्सवको आज चौथो दिन, प्रताप दास लगायतका कलाकारहरू आउँदै



लमही १५ माघ । देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयाेजना गरेकाे छैठौँ कृषि, पर्यटन तथा व्यापारीक महाेत्सवको आज आइतबार चौथो दिन प्रताप दास लगायत स्थानीय कलाकारहरूको प्रस्तुति रहने भएको छ ।

प्रताप दास सँगै कलाकारहरू बसन्ती चौधरी, सिर्जना गुरुङ, दोश्हरण चौधरी, उमादेवी खनाल, अनुष्का चौधरी, अनुप बुढा र दिपक बर्माको प्रस्तुति रहने आयोजक संस्था देउखुरी उद्योग वाणिज्य संघ लमहीले जानकारी दिएको छ ।

नेपाली गीत संगीत क्षेत्रको एउटा चम्किलो तारा हुन् प्रताप दास। हजारौं गीतमा आवाज दिई सकेका दास युवा पुस्ताका निकै मन पराइएका गायक हुन् । उनले स्वरबद्द गरेका गलबन्दी मैलिए, सर्लक्कै साइली, संग संगै जुनी काटौला, गमलामा जाई, पत्थरको मुटु, तिम्रो मेरो प्रित जस्ता बोलका गीत स्रोताले खुबै मन पराएका गीत हुन् ।

त्यसैगरी थारु गायिका बसन्ती चौधरीको पनि आज प्रस्तुति रहने छ । थारु र थुप्रै नेपाली गीतमा आवाज दई सकेकी गायिक बसन्ती देउखुरीबासी हुन् । त्यसैगरी बसन्ती चौधरी संगै थारु गीतका चर्चित गायक दोषहरण चौधरीको पनि आजै प्रस्तुति रहने देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा सांस्कृतिक समितिका संयोजक केशवराज पोख्रेलले जानकारी दिएका छन् । दोषहरण र बसन्तीले गाएको ‘जोरसे बजौबू मदरा, यी जोबना हुइल महिन भरुवा लगायतका गीतहरु चर्चित छन् ।

त्यसैगरी देउखुरीका होनहार युवा कलाकारहरु अनुप बुढा मगर र दिपक बर्माले हरेक दिन दमदार प्रस्तुति राख्दै आएका छन् । बर्मा र बुढा मगर गायक मात्र नभएर एक कुशल कार्यक्रम संचालक पनि हुन् । त्यस्तै गायिका, कार्यक्रम संचालिका उमादेवी खनालको पनि गज्जबको प्रस्तुतिले दर्शक स्रोतालाई रमाइलो पन दिइरहेकी छिन् । अनुष्का चौधरी र सिर्जना गुरुङको पनि प्रस्तुति रहने छ ।

यहि माघ १२ गते देखि संचालन भएको व्यापारीक महाेत्सवमा चन्द्र शर्मा, खेम सेन्चुरी, भूमिका गिरी, प्रेम शर्मा लगायतले आफ्नो प्रस्तुति राखी सकेका छन् । अझै राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ । स्थानीय कलाकार अनुप बुढा मगर, दिपक बर्मा, अनुष्का जोशी, स्थानीय डान्सरहरुले भरपुर मनोरंजन दिइरहेका छन् ।

अजम्मरी सामुदायिक वनको पिकनिक स्थल (विविधता पार्क) मा सञ्चालित महोत्सवमा करिव ५० हजार दर्शकले अवलोकन गर्ने र १ करोड बराबरको कारोबार गर्ने लक्ष्य आयोजकले राखेको छ ।

महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सर्वसाधारणका लागि रु. १ सय तथा विद्यार्थीको हकमा रु ८० रुपैयाँ टिकटदर कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे