LISTEN LIVE RADIO

देउखुरीको लमहीमा आज देखि महोत्सव शुरू हुँदै, मन्त्री आचार्यले उद्घाटन गर्ने



लमही १२ माघ । दाङ देउखुरीको लमहीमा आज देखि महोत्सव शुरू हुँदै छ । लमहीकाे जैविक विविधा पार्कमा आज देखि छैंठौ देउखुरी कृषि, पर्यटन तथा व्यापारिक महोत्सव शुरू हुन लागेकाे हाे ।

अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (बिबिधता पार्क) पछाडि १३ दिन सम्म सञ्चालन हुने महोत्सवको सम्पुर्ण तयारी समेत पुरा आयोजक देउखुरी उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सवको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गर्ने भनिएकोमा मन्त्री शर्मा अस्वस्थ भएपछि महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्यले गर्ने संघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिएका छन् ।

यता महोत्सव सञ्चालन हुने स्थलमा अहिले स्टल निर्माणदेखि स्वागत गेट, फिल्ड सरसफाई, मञ्च सजावट लगायतका काम पुरा भएको देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष केशवराज पोख्रेलले जानकारी दिएका छन् ।

सुरक्षालाई दृष्टिगत गर्दै महोत्सव स्थलमा सिसी क्यामराको समेत जडान गरिएको छ । भने सूचना सञ्चारको कामलाई प्रभावकारी बनाउन इन्टनेटको समेत जडान गरिएको बरिष्ठ उपाध्यक्ष कमलजंग सिहं ठकुरीले जानकारी दिएका छन् ।

“कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार”भन्ने मुल नाराका साथ सञ्चालन हुने महोत्सव माघ १२ गते देखि २५ गते सम्म चल्ने छ ।

स्थानीय कृषि उत्पादनको बजारीकरण, खस्कदो व्यापारको पुनरुत्थान र पर्यटन विकासमा टेवा पु¥याउनको लागि महोत्सवको आयोजना गरिएको छ ।

महोत्सवलाई थप आकर्षित र प्रभावकारी बनाउन विभिन्न कला, संस्कृतिसंग सम्बन्धित झाँकी, नृत्य तथा स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति समेत रहने छन् ।

करिब १ लाख भन्दा बढी दर्शकहरुले महोत्सवको अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । स्थानीय स्तरमा उपादित वस्तु तथा सेवालाई महोत्सवमा प्राथमिकता दिईने देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले बताएका छन् ।

महोत्सवमा कृषि, पर्यटन, उद्योग र व्यापार संग सम्बन्धित करिब २ सय ५० को हाराहारीमा स्टलहरु रहने छन् । जस अन्तर्गत १५—२० वटा कृषि प्रदर्शनी र कृषि उत्पादनसंग सम्बन्धित वस्तुहरुको बिक्री वितरण स्टल, २५—३० वटा स्थानीय व्यापारिक स्टल र बाँकी सबै अन्य व्यवसायसंग सम्बन्धित स्टल रहने अध्यक्ष खनालले बताएका छन् ।

करिव ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने र १ करोड बराबरको कारोबार गर्ने लक्ष्य आयोजकले राखेको छ । वाणिज्य संघले आफ्नो संघमा दर्ता भएका पसलहरुलाई भने ५० प्रतिशतको छुटमा स्टल उपलब्ध गराएको छ ।

भने बाँकी सबै अन्य व्यवसायसंग सम्बन्धित स्टलह रहेको अध्यक्ष खनालले बताएका छन् । महोत्सवलाई सहज रुपमा सञ्चालन र व्यवस्थापन गर्न लागि एक मूल समिति समेत बनाइएको छ ।

महोत्सव उद्घाटनका दिन उत्कृष्ट झाँकी प्रदर्शन गर्ने समुहलाई पुरस्कृत समेत गरिने भएको छ । जस अनुसार प्रथम हुनेलाई नगद १५ हजार, दोस्रो हुनेलाई नगद १० हजार, तेस्रो हुनेलाई नगद ७ हजार ५ सय र सान्त्वना हुनेलाई नगद २ हजार ५ सय पुरस्कारको व्यवस्था गरिएको साँस्कृतिक संयोजक केशवराज पोख्रेलले जानकारी दिएका छन् ।

महोत्सव अवधिभर विभिन्न जातजाती तथा भाषाभाषीको संस्कृती झल्किने साँस्कृतिक कार्यक्रमहरु, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।

महोत्सवमा राष्ट्रियस्तरका चर्चित कलाकार प्रकाश सपुत, बद्रि पंगेनी, प्रमोद खरेल, रामजी खाँड, पशुपति शर्मा, मेलिन राई, प्रिति आले, रमेशराज भट्टराई लगायतका करिब ५० बढी राष्ट्रीय तथा स्थानीय कलाकार आउने साँस्कृतिक संयोजक पोख्रेलले जानकारी दिएका छन् ।

महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ ।

त्यस्तै सर्वसाधारणका लागि रु. १ सय तथा विद्यार्थीको हकमा रु ८० रुपैयाँ टिकटदर कायम गरिएको छ । अहिले विहान ११ बजे लमहीको सार्वजनिक बगैचाबाट झाँकी निकालेर लमही बजार परिक्रम पछि दिउँसो १ बजे महोत्सवको उद्घाटन गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे