LISTEN LIVE RADIO

लोपन्मुख संस्कृतिको संरक्षणका लागि दाङको देउखुरीमा दशै बिशेष सांस्कृतिक कार्यक्रम हुने



लोपन्मुख संस्कृतिको संरक्षणका लागि दाङको देउखुरीमा दशै बिशेष सांस्कृतिक कार्यक्रम हुने

भालुवाङ १० असोज । दाङको देउखुरीमा दशै बिशेष सांस्कृतिक कार्यक्रम तथा पौराणिक नाच प्रतियोगिता हुने भएको छ ।विजयादशमीको अवसरमा राष्ट्रिय थारू कलाकार मञ्च केन्द्रीय समितिले देउखुरीको सिसहनियाँ–महदेवा जोड्ने नेपालको दोस्रो लामो पुल नजिकै राप्ती रिसोटको परिसरमा यहि असोज १५ गते १ दिनका लागि दिवाकालिन दशै बिशेष सांस्कृतिक कार्यक्रम तथा पौराणिक नाच प्रतियोगिता–२०७९ आयोजना गर्न लागेको हो । मञ्चले सोमवार राप्ती रिसोटमा पत्रकार सम्मेलनको आयोजना गरेर दशै बिशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको जानकारी गराएको छ ।

पछिल्लो समय थारु समुदायमा गाइने गुरइ, सखिया, बड्का नाच, लाठी नाच, झुमरा नाच लगायतका नाचगानहरु हराउँदै जना थालेपछि युवा पुस्तालाई सो नाचगान तर्फ आकर्षित गराउन पौराणिक नाचगान सहितको कार्यक्रम आयोजना गर्न लागिएको मञ्चका केन्द्रिय महासचिव रोशन रत्गैयाले जानकारी दिएका छन् । देउखुरीका विभिन्न स्थानका लोपन्मुख तथा पौराणिक नृत्यलाई प्रतियोगीताको रुपमा सहभागी गराइने छ । जसमा लोप भइसकेको गुरही नाच, सखिया नाच, बोक्सीनिया नाच लगायतका नाचको प्रस्तुत रहने महासचिव रत्गैयाले जानकारी दिएका छन् ।

दाङ देउखुरी क्षेत्रका ३० वटा बढी नाचगानलाई स्थान दिने गरी तयारी थालिएको छ । त्यसका साथै कार्यक्रममा गायक समिक्षा चौधरी, रोशन रत्गैया, बसन्ती चौधरी, दोषहरण चौधरी, शालिकराम चौधरी, राजेन्द्र चौधरी, गायक तथा हाँस्यकलाकार गौतम चौधरी, गायक डिआर चौधरी, मोडल समु चौधरी, अन्नु चौधरी लगायतको प्रस्तुती रहने कार्यक्रम संयोजक श्रीनारायण चौधरीले जानकारी दिएका छन् । सो दिन विहान ८ बजे देखि सुरु हुने कार्यक्रम खुल्ला कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

राष्ट्रिय थारु कलाकार मञ्चका केन्द्रिय महासचिव रोशन रत्गैयाँको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा चम्पन सांस्कृतिक समुहका अध्यक्ष नन्दुराम चौधरीले पौराणिक नृत्यहरुको संरक्षण गर्नुको साथै युवाहरुलाई उत्साहित तथा प्रेरणा दिने एउटा अभियानको रुपमा रहेको जानकारी गराएका थिए । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ दाङका सहसचिव दशरथ घिमिरे, गायक दोषहरण चौधरी, यम चौधरी लगायतका वक्ताहरुले मन्तब्य ब्यक्त गरेका थिए । केन्द्रिय सदस्य दोषहरण चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण श्रीनारायण चौधरीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे